ताकुकोट- केही साताअघि नै ताकुकोटमा आयोजना हुने न्वागी पर्वमा राष्ट्रियस्तरका कलाकार तथा गायक–गायिकाको प्रस्तुति रहने चर्चा चलेसँगै माई भगवती मन्दिर परिसर साँझ नपर्दै दर्शकले भरिएको थियो।
आयोजकले सम्भावित भीडलाई ध्यानमा राख्दै मञ्चअगाडि महिला तथा बालबालिका र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको थियो। मन्दिरसँगै रहेको माइकोट माध्यमिक विद्यालयको प्राङ्गणमा बाँस र डोरी प्रयोग गरी दर्शक व्यवस्थापन गरिएको थियो।
साँझ ८ बजे कार्यक्रम सुरु गर्ने तयारी भए पनि करिब १५ मिनेट ढिलो गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। हजारौं दर्शकको तालीबीच सुरु भएको कार्यक्रममा माई भगवती पूजा समितिका अध्यक्ष कृष्ण सुवेदी सभापति तथा तत्कालीन ताकुकोट गाविस सचिव गोपालकृष्ण सुवेदी प्रमुख अतिथि रहेका थिए। पूर्व गाविस सचिव तथा हाल जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत हरीबाबु ढकाल विशेष अतिथि थिए।
विभिन्न राजनीतिक दल, संघसंस्था, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय अगुवाको उपस्थितिमा आयोजक समितिका संयोजक बुद्धिबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै गाउँको पहिचान र प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले सहयोगी तथा उपस्थित सबैप्रति आभार व्यक्त गरे। त्यसपछि ताकुकोट एकता समाजले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेको थियो।
प्रमुख अतिथि र सभापतिले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै ताकुकोट एकता समाजका अर्जुनकुमार सुवेदीले विगतका वर्षझैँ कार्यक्रमलाई निरन्तरता दिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई महोत्सवका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले द्वन्द्वकालपछि सांस्कृतिक गतिविधि पुनः सञ्चालन गर्न स्थानीय स्काउटको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे।
ताकुकोट सेवा समाज काठमाडौंका उपाध्यक्ष तथा आयोजक समितिका सदस्य हरिश्चन्द्र भट्टले काठमाडौं र स्थानीय टोलीबीचको सहकार्यले कार्यक्रम सफल बनेको बताए। अन्य वक्ताहरूले पनि न्वागी पर्वलाई आगामी वर्षदेखि ‘ताकुकोट महोत्सव’ का रूपमा विस्तार गर्न सुझाव दिए।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुति सुरु भएको थियो। माइकोट माध्यमिक विद्यालयको प्रस्तुति पश्चात् पाँचखुवा देउरालीका गायक तथा आरजे/भिजे सागर गुरुङले आफ्ना चर्चित लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। त्यसपछि नवगायक हरिराम परियारले लोकभाका प्रस्तुत गरे।
लोक तथा दोहोरी गायिका कोपिला गुरुङ मञ्चमा उक्लिएसँगै दर्शकबाट उत्साहजनक स्वागत भएको थियो। उनले ‘सहनाईको पेपे’ लगायतका गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्।
कार्यक्रमबीच-बीचमा ताकुकोटका म्युजिक भिडियो निर्देशक तथा कलाकार प्रकाश भट्टले प्रस्तोता (होस्ट) का रूपमा कलाकारहरूको परिचय गराउँदै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
साँझको अर्को प्रमुख आकर्षण हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) थिए। आफ्नै गाउँमा प्रस्तुति दिन पाउँदा उत्साहित देखिएका उनले भूकम्प, गाउँघरको जीवन र सामाजिक व्यवहारमाथि व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए। उनको प्रस्तुति दर्शकले निकै रुचाएका थिए।
त्यसपछि हास्यकलाकार राजु पौडेल (राजु मास्टर) र बल्छी धु्रवेको संयुक्त प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो। उनीहरूले नेपाली संस्कृति जोगाउन, विदेशी संस्कृतिको अन्धानुकरण नगर्न र सामाजिक एकता कायम गर्नुपर्ने सन्देश दिएका थिए।
ताकुकोट–६ बाहाकोटका गायक सञ्जय गुरुङले ‘रेलिमाई’ र ‘दरौँदीको पानीले’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गरे।
रात गहिरिँदै जाँदा गायिका सम्झना लामिछाने मगर मञ्चमा उक्लिएकी थिइन्। उनले ‘घरमा पराल’, ‘फूल फुले पहेँलै भयो’, ‘बनैमा फूल बसायो’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शक रातभर नाचगानमा रमाएका थिए। उनीसँगै गीत गाउन र नाच्न दर्शक मञ्चसम्म पुगेपछि स्वयंसेवकलाई व्यवस्थापन गर्न केही कठिनाइ भएको थियो।
कार्यक्रमकै अवसरमा ताकुकोटका चर्चित नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्माता प्रकाश भट्टलाई सम्मान गरिएको थियो। उनले तीन हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन्। प्रमुख अतिथि र आयोजक समितिले संयुक्त रूपमा दोसल्ला ओढाएर उनलाई सम्मान गरेका थिए।
साँस्कृतिक कार्यक्रमभर स्थानीय विद्यालय, क्लब तथा विभिन्न समूहका कलाकारहरूले गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमले ताकुकोटको सांस्कृतिक पहिचान, सामुदायिक एकता र स्थानीय प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रतिक्रिया