गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदको लोभ र शक्तिकेन्द्रको आकर्षण देखिन थालेपछि ‘राष्ट्रवाद’का स्वरहरू क्रमशः हराउँदै गएको बताएका छन्।
एमाओवादी र संसद सदस्य पद परित्यागको घोषणा गरेपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले अबको एक साताभित्रै नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्र धाउने र लोभ देखाउने अनेकौँ नाटक मञ्चन हुने दाबी गरे।
‘मैले अहिले नै भने अन्यथा अर्थ लगाइन्छ,’ उनले भने, ‘तर एक हप्ता पर्खिनुहोस्, तपाईंहरूले देख्नुहुन्छ, कसरी पदका लागि चाकडी र दलाली हुन्छ, कसरी राष्ट्रवादका स्वरहरू विसर्जन हुन्छन्।’
उनका अनुसार शक्तिकेन्द्रमा ५/१० जनालाई प्रधानमन्त्रीसहित थुप्रै पदको प्रलोभन देखाइएको छ र त्यसका लागि कसरी मान्छेहरू धाउँदै छन् भन्ने नाटक अब सार्वजनिक रूपमा देखिनेछ।
तराई–मधेस र थारुवानका माग सम्बोधन गर्नुपर्ने कुरा उठाउँदा आफूलाई ‘उक्साएको’ भनेर आरोप लगाउनेहरू अहिले राष्ट्रवादका कुरा हराउँदै गएको उल्लेख गर्दै उनले भने, ‘कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे। तर पदको ललिपप देखिँदै जाँदा ती स्वरहरू कहाँ हराए, हेर्नुस्, एक हप्ता पर्खिनुहोस्, बुझ्नुहुनेछ।’
भट्टराईले एमाओवादी पार्टी परित्याग कुनै आकस्मिक निर्णय नभएको स्पष्ट पारे।
उनका अनुसार संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भई आर्थिक क्रान्ति र समृद्धिको नयाँ चरण सुरू भएको छ र त्यसका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको उनको भनाइ छ।
‘संविधान बनेपछि नयाँ शक्ति निर्माणको छलफल सहज होस् भनेर नै मैले पार्टी छोडेको हुँ,’ उनले भने।
आगामी केही महिना राजनीतिक उथलपुथल हुने सम्भावना औंल्याउँदै उनले भने, ‘बैशाख १२ को भूकम्पका परकम्पहरू जस्तै, असोज ३ को राजनीतिक भूकम्पका परकम्पहरू पनि केही समय चल्नेछन्। तर यो परकम्प समाज विकास र परिवर्तनको स्वाभाविक प्रक्रिया हो।’
गोरखा भ्रमणपछि भट्टराई भैरहवा हुँदै धनगढीसम्म पुग्ने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ।
प्रतिक्रिया