गोरखा- जिल्लाका मुस्लिम समुदायले आफ्नो समुदायका लागी राज्यले छुट्टै शिर्षकमा बजेट विनियोजन गनुपर्र्ने माग गरेका छन् । राज्यले अल्पसंख्यकको नाममा बजेट छुट्टाएपनि त्यो बजेट आफुहरुले उपभोग गर्न नपाएको उनीहरुले गुनासो गरे ।
मुस्लिम बस्तीमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सेवा सुविधा नपुग्दा आफुहरु झनै पछि परेको उनीहरुको दुखेसो छ । मुस्लीम युवा समाजको सहयोगमा शुक्रबार भएको मुस्लीम महिला कल्याण समाजको पहिलो साधारण सभाका बक्ताहरुले राज्यले प्रभावकारी रुपमा सबै वर्ग तथा समुदायको विकासका लागी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।
पहुँच नहुदा राज्यले दिदै आएको सेवा सुविधाबाट पनि आफुहरु बञ्चित रहन परेकाले अबसर गुमाउनुपरेको उनिहरुको भनाई छ । रोजगारका लागी मुस्लीम अल्पसख्यंक कोटा भएपनि क्षमताको कमीका कारण त्यसमा पनि मुस्लीम सहभागी हुन नसकेकोले आफुहरुको क्षमता अभिबृद्धिमा राज्यले लगानी गर्नुपर्ने उनिहरुले बताएका हुन् ।
उनीहरुले मुस्लीमलाई मधेसी कोटामा नराख्न पनि माग गरेका छन् । कार्यक्रमका अन्य बक्ताहरुले मुस्लीम समुदायको उत्थानका लागी सबै पक्ष क्रियाशील रहनुपर्ने बताएका थिए ।